नेपालगञ्जमा पुष ५ देखि १७ गतेसम्म महोत्सव सञ्चालन हुँदै

कोहलपुर ।

बाँकेको नेपालगञ्जमा पुष ५ देखि १७ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको छ ।

कृषिलाई विषेश प्राथमिकता राख्दै कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महोत्सव सञ्चालन हुने महोत्सव सचिवालयले जनाएको छ । महोत्सव सञ्चालन हुन लागेको ‘छैठौं नेपालगञ्ज महोत्सव’ को प्रचारप्रसार तिव्र पारिएको छ ।

‘छैठौं नेपालगञ्ज महोत्सव’ लाई भव्य र सभ्य रुपमा सर्वव्यापी बनाउन अटो रिक्सा र ई रिक्सा हुँदै जिंगल तयार गरी प्रचारप्रसार गरेको तथा अनलाईन समाचार माध्यम, टिभि, रेडियो, पत्रपत्रिकाहरुसंग सहकार्य भइरहेको सचिवालयले जनाएको छ ।

महोत्सवमा थप सहजताका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को कार्यालय नजिकै सचिवालय स्थापना गरिएको छ । स्टल बुकिङ लगायतका कार्यहरुका लागि सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

महोत्सव स्थलमा बाउन्ड्री निर्माण, स्टल निर्माण, मञ्च निर्माण, बालउद्यान जडान, मुल गेड लगायतका निर्माण कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । पौष ४ गते सम्पूर्ण कार्यहरु सम्पन्न हुने गरी तयारी भएको सचिवालयले जनाएको छ ।

‘कृषि प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नारा सहित ए.जि.सर्भिस प्रा.लि. नेपालगञ्जले यही पौष ५ गतेदेखि पौैष १७ गतेसम्म नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय परिसरमा महोत्सव सञ्चालन हुन लागेको हो ।

उक्त महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३ सय वटा स्टलहरु राखिएको छ । जसमा ५० वटा स्टलहरु कृषि तथा पशुपन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निःशुल्क छुट्टयाइएको छ भने लुम्बिनी प्रदेशभरका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने वातावरण मिलाइएको छ ।

महोत्सव अवलोकनको समय विहान १० बजे देखि साझा ७ बजे सम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ ।

महोत्सवमा थारु गाँउ, बालउद्यान, सबै प्रकारका स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने आयोजकले जनाएको छ । जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ भने संरक्षकको रुपमा नेपालगञ्ज उप-महानगरपालिका रहेको छ ।