बैजनाथका कक्षा ११ र १२ मा पढ्ने छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान

बैजनाथ।

बैजनाथ गाउँपालिकाले बिद्यालय थाने छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान दिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत कक्षा ११ र १२ मा पढ्ने छात्राका लागि यस्तो ब्यवस्था गरेको हो ।

यसका लागि गाउँपालिकाले चालु आर्थिक २०८०/०८१ को बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले छोरी पढाउ अभियान अन्तरगत स्थानीय सरकारले छात्रबृत्तिमा अनुदान दिएको बताए ।

बिद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राहरुलाई शिक्षामा आर्कषण गर्न उनीहरुको मासिक शुल्कमा ५० प्रतिशत अनुदान दिइएको बताए ।

उनका अनुसार गाउँपालिकामा सञ्चालित सुर्योदय माध्यामिक बिद्यालय चिसापानी, प्रभात नमुना माध्यामिक बिद्यालय जिगाउँ, बागेश्वरी माध्यामिक बिद्यालय र जनता माध्यामिक बिद्यालयका कक्षा ११ र १२ मा पढ्ने करिव ६ सय जना छात्राहरुलाई छात्रवृत्तिमा अनुदान दिइएको छ ।

‘हामीले २०७९ सालको स्थानीय निर्वाचनमा आफ्नो घोषणा पत्रमा छात्रालाई छात्रवृत्तिमा अनुदान दिने कुरा समेटेका थियौं, चुनाव अगाडी घोषणापत्रमा बोलेका ती कुरालाई कार्यान्वयन गर्न यो कार्यक्रम ल्याएका हौं,’ अध्यक्ष शाहीले भने ।