बाघको आक्रमणबाट चितवनका एक पुरूषकाे मृत्यु

मकवानपुर ।

मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान मनहरि गाउँपालिका– ६ खयरघारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर १ दुबिचौरका ४३ वर्षीय पौडेललाई मनहरि– ६ खयरघारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्रअन्तर्गत दोभानमा खर काट्न आएको बेलामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

घटना भएको खबर पाउनासाथ अनुसन्धान र मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए।