मध्यरातमा महिलालाई दुर्व्यवहार गर्ने एमालेको युवा संघ नै हो ?

काठमाडौं ।

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । महिलाहरु सुतेको ठाउँमा गएर एक हुल युवा उनीहरुमाथि दुव्यर्वहार गर्छन र उनीहरुलाई लखेट्छन ।

बोल्ने युवाहरुले भनेको सुनिन्छ, तपाइँहरु दुर्गा प्रसाइँको आन्दोलनमा आएको होईन, उठ्नुस गैहाल्नुस । ‘ राति खिचिएको भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरु देखिन्छन् । एक जना पुरुषले ‘हेलो दिदीहरु, सात गतेको कार्यक्रममा आउनु भएको हो ? ’ भनेर सोध्छन् ।एमालेको युवा संघको कार्यकर्ता बताउने ती युवाहरुले यतिसम्म दबाब दिन्छन कि महिलाहरुले ‘लुगा त लगाउन दिनुस’ भनेर जवाफ दिनु परेको छ ।

ती महिलाहरु आफ्नो स्थानबाट उठ्छन् र झोला बोकेर कोठाबाट बाहिर निस्किन सुरु गर्छन् । त्यसपछि पनि त्यो युवाहरुको समूहले उनीहरुलाई अत्याउँछ ।

‘ए दिदी झर्नुस्, फास्ट’ एक पुरुष दबाब दिन्छन् । भिडियोमा एक पुरुषले ‘तपाईंहरु कुन जिल्लाबाट आउनु भएको ?’ भनेर प्रश्न गर्छन् । महिलाहरुले त्यसको उत्तर दिएको सुनिँदैन । अर्का पुरुषले नै ‘इटहरीदेखि अरे’ भनेर आफैं उत्तर दिन्छन् ।

‘ए इटहरी !’ भन्दै पुरुषहरु उनीहरुलाई बस चढाएर इटहरी नै फर्काइदिने कुरा गर्छन् ।एक महिलाले आजको रात यहीँ बस्न दिन आग्रह गरेको सुनिन्छ । पुरुषहरु भने ‘हुँदैन हुँदैन’ भन्छन् ।

महिलाले गाडीको ‘व्यवस्था गरिदिन’ अनुरोध गर्छन, युवाको जवाफ हुन्छ, ‘जसले ल्याएको उसैलाई भन्ने ।’ ती पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिँदै युट्युबमा कुर्लिएजस्तो नहुने बताएको पनि सुनिन्छ । ‘देखाइदिन्छौं भन्दै आएको होईन ? तिमीहरु सबैलाई लखेटिन्छ काठमाडौं, हाम्रो ठाउँबाट।’ एक युवा बोल्छन् । यो भिडियो कहाँको हो भन्ने खुलेको छैन ।