‘ब्ल्याक मनी’लाई ‘ह्वाइट’ बनाउने भन्दै प्रचण्डको हस्ताक्षर देखाएर ४५ लाख ठगी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार भएको दाबी गर्दै उनको हस्ताक्षर समेत देखाएर ४५ लाखभन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका– ८ का ४४ वर्षीय राजेन्द्र खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी उजुरी परेको थियो । अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उजुरीको पहिलो पृष्ठ

अमरदीप सोसियल अर्गनाइजेसनको लेटरहेडमा संरक्षकका रूपमा ‘अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड)’ भनी लेखिएको नाम र हस्ताक्षर देखाएर उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

सो संस्थाको वरिष्ठ उपाध्यक्षमा आनन्दराज खनाल, उपाध्यक्ष लक्ष्मीनाथ झा, महासचिव सुमन पुडासैनी, सचिव रामप्रसाद भट्टराई, सहसचिव दीपक पाण्डे, कोषाध्यक्ष प्रतिमा सैजु र सदस्यहरूमा रोजिना सुवेदी तथा विशाल खनाल रहेका छन् ।

खनालले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरूमा लगानी गर्ने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रचण्डसँगै आफ्नो हस्ताक्षर देखाउने गरेको कागजात

वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग पटक–पटक गरेर ४५ लाख ठगेको उजुरीमा उल्लेख छ ।

दमक– ३ को ताराबारी डिपोमा करिब ४ बिगाहा जग्गामा रहेको अस्फाल्ट क्रसर उद्योगसँग आफूलाई ‘प्रचण्ड बा’को दाहिने हात भन्दै ठगी गरेको वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीका सञ्चालक पशुपति बरालले बताए ।

‘हामीसँग अकुत सम्पत्ति छ । त्यो सम्पत्ति क्रसर उद्योगमा लगानी गर्छौं । ब्ल्याक मनीलाई ह्वाइट बनाउनुपर्छ भन्यो । उसले नेत्रविक्रम चन्दसँग पनि राम्रो सम्बन्ध भएको कुरा गर्‍यो । मेरो धेरै पैसा बजारमा डुबेको थियो, त्यो पैसा उठाउन पनि सहयोग गर्‍यो । त्यसपछि पार्टीलाई चन्दा दिनुपर्छ भन्दै पैसा लग्यो,’ बरालले भने ।

प्रधानमन्त्री कार्यालयबाट सोझै २० करोड रुपैयाँ लगानी आउने भनेर पनि थप रकम ठगेको गुनासो बरालले गरे ।

‘ब्ल्याक मनीलाई ह्वाइट बनाउन संस्थाको नामबाट तपाईंको कम्पनीमा २० करोड लगानी गर्ने हो, तपाईंले विश्वास गर्नुहोस् भनेपछि आफ्नो कम्पनीको नाममा रहेको ना४प ८६७० नम्बरको स्कोर्पियो गाडी पनि दिएको थिएँ,’ उनले भने, ‘२ महिनासम्म झुक्याएर गाडी फिर्ता गरेन । गाडीमा मेरो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाताको १ थान दस्तखत गरेको चेक पनि थियो । गाडीको ब्लु बूक, कम्पनीको एग्रिमेन्ट कागज समेत रहेको हुँदा उक्त चेक दुरुपयोग गर्ने कोशिश समेत भएको पाएको छु ।’

बरालले थपे, ‘हस्ताक्षरसहित लगेको चेकबाट ७२ लाख रुपैयाँको चेक बनाएर ‘चेक बाउन्स’मा मुद्दा हाल्ने कोशिश पनि खनालले गरेका रहेछन् । मैले सबै कुरा खुलाएर प्रधानमन्त्रीको निजी सचिवालयमा समेत उजुरी दिइसकेको छु । ’

अमरदीप सोसियल अर्गनाइजेसन परिवारको तर्फबाट अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको कागज देखाएर ठगी गरेको आरोप उनको छ ।

काठमाडौंबाट पक्राउ परेका खनालद्वयलाई झापा ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । ठगी मुद्दामा अनुसन्धानका लागि आज म्याद लिने उनले बताए ।