इजरायलमा छोरालाई गोली लागेको खबरले विक्षिप्त परिवार




दाङ ।

प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन ।

इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा प्रविण गोली लागेर घाइते भएको खबर सुनेपछि त झन् बाबु निमबहादुरको हेसो हवास नै छैन । उनी युद्धग्रस्त क्षेत्रमा घाइते छोरासँग सम्पर्क हुने आशमा घरी मोबाइल हेर्छन् । घरी इजरायलमा भएको आक्रमणबारे आइरहेका समाचार ।

गत भदौ २६ गते बिएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्यनका लागि इजरायल गएका थिए, प्रविण ।

शनिबार आक्रमण भए लगतै बिहान ११ बजे छोरासँग उनको सम्पर्क भएको थियो । ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’ निमबहादुरले छोरासँग संवाद भएको भयो। प्रविणले त्यसो भनेको बेला घरका सबै सदस्यसँग आधा घण्टा कुरा गरे । त्यसपछि छोरासँग उनको सम्पर्क हुन पाएन ।

आइतबार बिहान १२ बजे निमबहादुरको पुन प्रविणसँग सम्पर्क भयो । ‘दुईवटा खुट्टामा गोली लागेको छ, एउटा खुट्टा छिया छिया भएको छ रे, अस्पतालले पनि हेरको छैन रे’ छोराको खबरबारे सुनाउदा सुनाउँदै निमबहादुरको गला अवरुद्ध भयो ।

सात समन्द्रपारी घाइते भएको छोराको खबरले विक्षप्त भएका निमबहादुर त्यसपछि बोल्न चाहेनन् ।

आइतवार छोरा प्रविणसँग निमबहादुरको सम्पर्क हुँदा दंगीशरण गाउँपालिका ३ हेकुलीका वडाध्यक्ष सुकलाल चौधरी सँगै थिए । उनले प्रविण र उनको परिवारसँग भएको कुराकानीबारे बताए । उनका अनुसार आज दिउँसो प्रविण र बाबुबीच करिब दुईदेखि तीन मिनेट भिडियो कल भएको थियो ।

फोनमा भएको कुराकानीमा प्रविणले आफू अस्पतालमा रहेको र दुईवटा खुट्टामा गोली लागेको बताएका थिए । ‘भिडियो कलमा कुरा गर्दा उनी अस्पतालको बेडमा पल्टिएका थिए । नाकमा पाइप लगाइएको थियो । खुट्टामा गोली लागेको छ, एउटा खुट्टा भाचिएको छ भन्थे’, वडाध्यक्षले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार प्रविणले आफ्नो खुट्टाको घाउ भिडियोमा देखाउन कोशिस गर्दै थिए । त्यसैबेला एकजना नर्स आइन् र फोन सम्पर्क टु्टयो । त्यसयता प्रविणसँग पुनः सम्पर्क भएको छैन ।

प्रविणले आफ्नो अगाडि दुई जना नेपालीको शव देखेको बताएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

परिवारले प्रविणका बारेमा छिटो भन्दा छिटो सरकारले राजदूतावासमार्फत सम्पर्क गरेर वास्तविक अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् । छोरा घाइते भएको खबर पाएका उनको परिवारले सुरक्षित स्थान लगेर उपचार गरि ज्यान बचाईदिन र उद्धार गरिदिन माग गरेका छन् ।

निमबहादुरका तीन भाइ छोरा छन् । प्रविण कान्छा छोरा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुर सहित उनकी श्रीमती, बुहारी र एकजना नातिनी छन् ।

अनलाइनखबरबाट

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार