काठमाडौँ ।
कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार ऐनविपरीत श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गरेको घटनाप्रति नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकृष्ट भएको जनाएकाे छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साे घटनाप्रति आफूहरूकाे गम्भीर ध्यानाकृष्ट भएको जनाएका हुन् ।
कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, इमेलमार्फत अवकाश पत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य गरेको पीडित पत्रकारले गुनासो गरेकाे जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले मुलुकमा देखिएको आर्थिक मन्दीको कारण देखाउँदै कान्तिपुरले वर्षौं कार्यरत श्रमजीवी पत्रकारको सम्झौता नवीकरण नगर्ने, अवकाश पत्र दिने, राजीनामा दिन बाध्य बनाएर रित्तो हात घर पठाउन खोज्नु, स्थायीलाई स्ट्रिन्जरमा झार्न खोज्ने कार्य निन्दनीय भएकाे बताएका छन् ।
‘श्रम ऐनमा भएको व्यवस्थाविपरीत पत्रकारलाई जबरजस्ती यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दछौं नेपालको प्रचलित ऐन, कानुन अनुसार पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न कान्तिपुर समक्ष अनुरोध गर्दछौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
‘कान्तिपुरमा कार्यरत पत्रकारले व्यस्थापन समक्ष राखेका पत्रकारका मागहरूप्रति हाम्रो पूर्ण समर्थन र एक्यबद्धता छ । पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजीवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न पनि आग्रह गर्दछौं ।
कानुनी आधारलाई टेकेर वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गर्दछौं । पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए श्रमजीवी पत्रकारको पक्षमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।
त्यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापन नै जिम्मेवार र जवाफदेही हुने समेत स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्