जमुनाहा नाकामा नेपाली अलपत्र

नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लागेको छ । तर, भारतबाट काम गरेर फर्किने नेपाली मजदुरलाई कर्फ्यु लागेको कुरा के थाहा ? भारतका विभिन्न स्थानबाट आएका उनीहरु जब सिमा प्रवेश गर्न थाले, तब थाहा पाए नेपालगन्जमा लागेको कर्फ्यु ।

जसका कारण भारतबाट काम गरेर आउने थुप्रै नेपाली अलपत्र परे । नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसोदेखी अनिश्चितकालिन कर्फ्यु लगाएको थियो ।

कर्फ्यु लागेका कारण उनीहरु सिमाक्षेत्रमा अलपत्र परेका हुन् । एक मजदुरले भने, ‘मजदुरीका लागि भारतमा गएका थियौं, दसै मनाउन नेपाल फर्किदा सिमाबाट छिर्नै पाएनौं, हामी घण्टौंसम्म सिमामै अलपत्र पर्यौं ।’ उनी जस्ता थुप्रै नेपाली मजदुरले सिमाक्षेत्रमा रात बिताएका छन् ।

ईलाका प्रहरी कार्यालय जमुनाहा नेपालगन्जका ईन्चार्ज एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर बिष्टले कर्फ्युका कारण सिमाक्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पुर्याउन सुरु गरिएको बताए । उनका अनुसार सिमा क्षेत्रमा रोकिएका नेपाली नागरिक झण्डै २ हजारको संख्यामा रहेका छन् ।

नेपालगन्जका यातायात ब्यवसायीसँग समन्वय गरेर सिमा क्षेत्रमा रोकिएका यात्रुलाई सुरक्षित गन्तब्यसम्म पुर्याउने काम गरिएको वरिष्ठ सई बिष्टले बताए । ‘करिव ५ सय जति यात्रुलाई ९ वटा बसमा जमुनाहादेखी राँझा चोकसम्म पठायौं, अझै १४/१५ सयको हाराहारीमा नाकामै छन्, यिनीहरुलाई गन्तब्यमा पठाउन थप बसहरु आउँदैछन्,’ उनले भने ।

भारतबाट फर्केका नेपालीले आफुहरु मध्यरातीबाट नाकामा अलपत्र परेको बताइरहँदा बरिष्ठ सई बिष्टले भने बिहान साढे ६ बजे मात्र सिमा क्षेत्रमा उनीहरु आईपुगेको दाबी गरेका छन् । अधिकांस नेपाली नागरिक भारतको सिमला लगायत ठाउँबाट आएका हुन् । नजिकिदै गरेको दसै मनाउनका लागि अधिकांस ब्यक्ती परिवार सहित फर्केका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पुर्बमा राप्ती पुल, उत्तरमा राझा चोक, दक्षिणमा जमुनाहा नाका र पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटोसम्म कर्फ्यु लगाएको छ । कर्फ्यु लागेको बाहेकका ठाउँमा यातायातका साधन, बजार, उद्योग, ब्यवसाय तथा बिद्यालय सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कर्फ्यु लगाएपछि नेपालगन्जको जनजीवन सामान्य बनेको छ । ठाउँ-ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् । नेपालगन्ज उपमहानगर क्षेत्रको बजार, उद्योग ब्यवसाय, बिद्यालय लगायत सबै क्षेत्र बन्द छन् ।