बाल सुधारगृहबाट भागेका बन्दि दैलेखबाट पक्राउ

कोहलपुर

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार भएका बाल बन्दी दैलेखबाट पक्राउ परेका छन् ।

गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बाल बन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये १ जना बाल बन्दी दैलेखबाट पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए ।

दैलेखको महाबु गाउँपालिकाका स्थानीय उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डाँगीले जानकारी दिए । बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकिएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए ।

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा १ जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरूलाई विभिन्न प्रहरी कार्यालयका एकाइहरूमा राखिएको जनाइएको छ ।