समाचारको विषयलाई लिएर कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख सेनद्वारा पत्रकारलाई गालीगलौज

कोहलपुर ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले समाचारको विषयलाई लिएर कोहलपुर टाइम्स अनलाइनका संचारकर्मी प्रमोद रिजाललाई अमर्यादित र अपशब्द बोल्दै धम्क्याएको घटनाप्रति पत्रकारका विभिन्न संघ संगठनहरुले आफ्नो ध्यानाकर्षण जनाएका छन् ।

कोहलपुर नगर अस्पतालको सेवा सुविधाका विषयमा प्रकाशित समाचारलाई लिएर स्वास्थ्य शाखा प्रमुख ठकुरीले फोनमार्फत् संचारकर्मी रिजाललाई अमर्यादित र अपशब्द प्रयोग गर्नु अस्वभनीय विषय भएको भन्दै घटनाको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँके, क्रियाशिल प्रत्रकार समूह कोहलपुरलगायतका संघसंस्थाले विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गर्दै जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख समेत व्यक्त गरेका छन् ।

‘समाचारका विषयमा चित्त नबुझे विधिसम्मत बाटोबाट समाधान खोज्न सकिने हुँदाहुँदै जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको यथार्थता छानविनको माग गर्दछौं विज्ञप्तिमा भनिएको छ–’प्रेस स्वतन्त्रताको सम्मान र पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बनाउन सम्बद्ध सरोकारवाला पक्षसँग अनुरोध पनि गर्दछौं ।’ स्वास्थ्य शाखा प्रमुख सेन सहकर्मी कुटपिट तथा विभिन्न घटनामा चर्चामा आई रहने व्यक्ति हुन ।