तत्काल विद्यालय सुचारु हुने वातावरण निर्माण गर्न छ विद्यार्थी संगठनको माग




काठमाडौं ।

विभिन्न राजनीतिक दल निकट छ विद्यार्थी संगठनले शिक्षकहरुले सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुः खद् भएको बताएका छन् ।

आज (शुक्रबार) संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले भविष्यमासमस्या नआउने गरी शिक्षकहरुको जायज माग सम्बोधन गर्न र तत्तकाल विद्यालय सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकार्षण गराएका हुन् ।

संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा तत्काल सर्वपक्षीय वार्ता, छलफल र संवाद मार्फत आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले शिक्षक महासङ्घलाई पनि सरकारले बोलाएको वार्तामा बसी समस्या समाधानको बाटो पहिल्याउन आग्रह गरेका छन् । साथै, छ विद्यार्थी संगठनहरुले नेपालको शिक्षा क्षेत्र विभिन्न स्वार्थ समूहको प्रभावमा छ भन्ने गम्भीर संशय पैदा भएको बताएका छन् ।

‘विद्यालय शिक्षा विधेयक, २०८० सङ्घीय संसद्मा दर्ता हुनु अगावै विद्यालय शिक्षा विधेयक नामक एक अनौपचारिक विधेयक सामाजिक सञ्जालको सतहमा आएको र उक्त सतहमा आएको विधेयकमा भएका केही महत्वपूर्ण व्यवस्थाहरू हाल दर्ता विधेयकमा समावेश नभएको सन्दर्भमा नेपालको शिक्षा क्षेत्र विभिन्न स्वार्थ समूहको प्रभावमा छ भन्ने गम्भीर संशय पैदा भएको छ,’– नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादव र अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार