शिक्षकको आन्दोलनलाई कोहलपुर नगर प्रमुखको ऐक्यबद्धता

कोहलपुर ।

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन गरिरहेका छन् । शिक्षकहरुका मागहरु जायज भएकोले मागहरुलाई पुरा गर्नुपर्ने भन्दै कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले फेसबुकमा लेख्दै समर्थन गरेका छन् ।

नगर प्रमुख पूर्ण आचार्यले यस्तो लेखेका छन्,

‘धेरै साथिहरुको जिज्ञासा छ तपाई स्थानिय सरकार प्रमुखको नाताले शिक्षकहरुको आन्दोलनलाई कसरी लिनु भएको छ ? भोलिदेखि बिधालय बन्द सहित सडक आन्दोलन गर्ने घोषणा गरेका शिक्षकहरुलाई तपाई के भन्न चाहानुहुन्छ ? यो बिषयमा मेरो संक्षिप्त धारणा छ)ञयो अवस्थाको सिर्जना हुनु अहिलेका मुख्य दल र मुख्य नेतृत्वले आफ्नो राजनितिक अभिष्ट पूरा गर्न शिक्षकलाई अनेकन पटक राजनीतिक रुपमा प्रयोग गर्नुको उपज हो ।झ समस्याका सृस्टिकर्ताहरु नै सरकारमा रहेका बेला शिक्षकका जायज माग पनि पूरा गर्ने कर्तब्य अहिलेका राजनीतिक दल र तिनै नेतृत्त्वको हो । त्यसैले शिक्षकहरुको निर्णायक आन्दोलनमा मेरो पुरापुर समर्थन छ । आगामी दिन शिक्षा, शिक्षक, विद्यार्र्थी, अभिभावक, दल र सरकारहरुका बीच पुन–पुन आन्दोलनको अपेक्षा गर्न नपरोस् ।’

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा अहिले शिक्षकहरुले बृहत विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।