Kohalpur Today Header Ads

रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच झडप, एक जनाको मृत्यु तीन घाइते




गएराति रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। सोही झडपमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच सोमबार राति झडप भएको थियो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो।

LIfe Ok

प्रहरी नायब उपरीक्षक थापाले झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको बताए।

अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रहरी नायब उपरिक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार