चिनियाँ रक्षामन्त्री बेपत्ता !

काठमाडौँ ।

चीनका विदेशमन्त्री किङ ग्याङपछि अब चीनका रक्षामन्त्री ली साङ्फु बेपत्ता भएको रिपोर्टहरु सार्बजनिक भएका छन् । उनी दुई हप्ताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । यस्तो अवस्थामा अब रक्षामन्त्रीको जिम्मेवारी लीबाट फिर्ता भएको र उनलाई अनुसन्धानको दायरामा राखिएको अड्कलबाजी गरिएको छ ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले एक पोस्टमा भनेका छन्, राष्ट्रपति सीको मन्त्रिपरिषद्को कथा अगाथा क्रिस्टीको उपन्यास ‘एन्ड देअर अर नन’ सँग मिल्दोजुल्दो छ । उनले पहिले विदेशमन्त्री किन ग्याङ, त्यसपछि रकेट फोर्स कमाण्डर र अहिले रक्षामन्त्री ली साङफु बेपत्ता रहेको बताए ।

उनी अन्तिम पटक तेस्रो अफ्रिका चाइना पिस एण्ड सेक्युरिटी फोरममा सार्वजनिक रुपमा देखिएको दाबी गरिएको छ । बेइजिङमा आयोजित उक्त सम्मेलनमा लीले आफ्नो मुख्य भाषण दिएका थिए । ली साङ्फु गत मार्चमा मात्र रक्षामन्त्रीमा नियुक्त भएका थिए ।

यसअघि जुलाईमा चिनियाँ विदेशमन्त्री किन ग्याङ बेपत्ता भएपछि साङ्फु बेपत्ता भएको खबर आएको हो । ली साङ्फु यसरी बेपत्ता भएपछि सबै किसिमका अड्कलबाजी सुरु भएको छ ।

पाँच वर्षअघि भएको हार्डवेयर खरिदमा भएको भ्रष्टाचारको अनुसन्धान भइरहेको बेला चीनका रक्षामन्त्री बेपत्ता भएको बताइएको छ । यो अनुसन्धान जुलाईमा सुरु भएको थियो । तर, चिनियाँ सेनाले सन् २०१७ को अक्टोबरदेखि यी मुद्दाहरूको अनुसन्धान गरिरहेको बताएको छ ।

ब्लूमबर्गको प्रतिवेदन अनुसार ली सेप्टेम्बर २०१७ देखि २०२२ सम्म उपकरण विभागमा कार्यरत थिए । तर, उनीमाथि कुनै आरोप भने लगाइएको थिएन ।

यसअघि प्रकाशित रिपोर्टहरूका अनुसार, विज्ञहरूले चर्चित व्यक्तिहरूको प्रभावले आफ्नो शक्तिलाई कुनै पनि चुनौतीबाट बच्न चिनियाँ सरकारले नै गायब बनाउने गरेको विश्लेषण गरिएको छ । व्यवसायीको हकमा चीनको सत्तारुढ पार्टीले देशका निजी व्यवसायीहरूको हातमा भएको अत्याधिक सम्पत्तिलाई आफ्नो लागि सम्भावित खतरा मानेको बताइएको छ ।

राष्ट्रपति सीको कार्यकालमा र विशेषगरी पछिल्ला केही वर्षमा यस्ता व्यक्तिलाई पक्राउ गर्ने र उनीहरूको सम्पत्ति जफत गर्ने प्रवृत्ति बढेको छ । कोही पनि पार्टीभन्दा माथि वा पहुँचभन्दा बाहिर छैन भन्ने सरकारको स्पष्ट सन्देशको रुपमा यी घटनाहरुलाई हेरिएको छ ।

विदेशमन्त्री, रक्षमन्त्री मात्र होइन यस अघि चर्चित उद्यमी ज्याक मा पनि लामो समय सम्पर्कविहीन बनेका थिए ।