‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा ६८ जना सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज ।

नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।

युनियन बाँकेले विगतको वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरेको हो ।

युनियन बाँके र बरिष्ठ पत्रकार पन्नालाल गुप्त प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मंगलबार सो शिविर गरिएको हो ।

हस्पिटल परिसरमा बिहान आयोजित कार्यक्रमको उद्घाटन नेपाल प्रेस युनियनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी र प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले गरे ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा संचालन गरिएको उद्घाटन कार्यक्रममा वक्ताहरूले युनियनका संस्थापक तथा सेनानी गुप्तको जीवनशैलीको स्मरण गरेका थिए ।

सो शत्रमा बोल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गीय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुकऋषि चौलागाईले चाचाजीले पत्रकाररिताको मर्यादालाई विशेष ध्यान दिएको बताए ।

युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मिर्गौला परिक्षण कार्यक्रम राखेको बताए ।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो । शिविरमामा ६८ जना सञ्चारकर्मीले मिर्गौलाको चेकजाँच गराएको सचिव लोधले जानकारी दिए ।