ज्ञानोदय सामुदायिक पुस्तकालयद्वारा १९औं वार्षिकोत्सव मनाइयो (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १६औं राष्ट्रिय पुस्तकालय दिवस र १९ औं वार्षिकोत्सव मनाएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री किशोर सिंह राठौरको प्रमुख अतिथिमा १६औं राष्ट्रिय पुस्तकालय दिवस र १९ औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै राठौरले पुस्तकालय बिद्यार्थीका लागि मात्र नभएर सबै उमेर समुहका लागि उपयोगी भएको बताए ।

‘पुस्तकालय विद्यार्थीका लागि मात्र होईन, पढ्नको लागि जुनसुकै उमेर समूहको व्यक्तिले केही कुरा जान्ने, नयाँ कुरा सिक्ने, जान्ने पढेर नै हो ।’
‘देशलाई अगाडी बढाउनका लागि अनुशासन चाहिन्छ,’ उनले थपे, ‘अनुशासन नभएको व्यक्ति कुनैपनि ठाउँमा सफल हुन सक्दैन ।’

आफ्नो पहलमा कोहलपुरमा सघन शहरी कार्यक्रम लागु हुनमा आफ्नो विशेष भूमिका रहेको राठौंरले बताए । राठौंरले मानखोलादेखि कोहलपुरसम्म चार लेनको बाटोको डिपिआर चाडै बन्यो भने छिट्टै फोरलेन सडक बन्ने आश्वासन दिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जु कुमारी चौधरीले पुस्तकालय ‘ज्ञानको भण्डार’ भएको र ई–लाईब्रेरीको अवधारणा अगाडी बढाउनुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, वडाअध्यक्ष बीरेन्द्र शाह, एमाले नगर अध्यक्ष नमप्रसाद शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, स्वर्गिय हरिप्रसाद पौडेल स्मृति अक्षय कोषका संरक्षक जयश्वर पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, नागरिक उन्मुक्ती पार्टीका जिल्ला सचिव भुमबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठ, काँग्रेस नेता निमबहादुर चलाउने, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, कोहलपुर खानेपानीका उपाध्यक्ष बीरबहादुर बिष्ट, बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मनप्रसाद आचार्य, काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, कोहलपुरका वडाअध्यक्षहरु हरसिंह कठायत, गौरा भट्टराई, लालबहादुर राना, बैजनाथ–३ का वडाअध्यक्ष निखिल बैगार, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्र बिष्ट अन्य अतिथी, समाजसेवी, विद्यार्थी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन सचिव एकराज शर्माले गरेका थिए भने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुस्तकालय दिवसको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रक्तदान, सरसफाई लगायत कार्यक्रम गरेको थियो ।