सोनापुर मिनरल्सको आईपीओ प्रिमियममा बिक्री खुला, प्रतिकित्ता २२५ रुपैयाँ

काठमाण्डौ ।

सोनापुर मिनरल्स एण्ड आयलले आज साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ ।

साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीयलाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।