भाग-१, पयर्टन डिभिजन कार्यालयमा चरम बेतिथि : ९५ वटा जस्ता पाता र ४ पिल्लरको ९ लाख बढि भुक्तानी

साना-साना योजनाको फोटो हेरेर भुक्तानी दिने गरेका छौं : पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख दिनेश अधिकारी

डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ लोकनगरमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेको जस्ता पाता र ४ पिल्लरको मात्र ९ लाख बढि रकम भुक्तानी गरेको पाइएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको आ.व. २०७९/०८० को बजेटबाट कोहलपुर नगरपालिकामा ३ वटा मन्दिरमा संरचना बनाइएका छन् ।

जसमा लक्ष्मीनारायण मन्दिर-११, शिव मन्दिर-२ र महाकालिका मन्दिर-१२ मा संरचनाहरु निर्माण भएका हुन् । यि तीन मन्दिरको रकम जनही १०/१० लाख रकम हो ।

पहिलो चरणमा लक्ष्मीनारायण मन्दिरको विषयमा कोहलपुर टुडेको खोज अनुसार उपभोक्ता समिति निर्माण नगरी सोझै कोटेशन मार्फत काम गराएको र मन्दिरका कुनै पदाअधिकारीलाई जानकारी नदिई ९५ वटा जस्ता पाताको ९ लाख ३७ हजार ५ सय ४ रुपैया भुक्तानी लिएको देखिन्छ ।

लक्ष्मी नारायण मन्दिरको माथिल्लो भागमा जस्ता पाता हाल्न भनी कर्मचारी र निर्माण व्यवसायीको मिलोमतोमा कोटेशन हाल्न लगाई भूपेन्द्र निर्माण सेवाले कोटेशन पारेको छ ।

भूपेन्द्र निर्माण सेवाका सञ्चालन लक्ष्मीनारायण आचार्यले कोटेशनमा भएकै आधारमा काम गरेको र भुक्तानी लिएको बताएका छन् ।

नाम नबताउने शर्तमा एक स्थानियले भने, ‘लक्ष्मीनारायण मन्दिरको टिनको छानो भन्दा पक्की ढलान गर्ने योजना थियो तर आर्थिक अपचलन गर्न कोटेशनमा काम भयो ।’

‘कस्तो बनाउने भनेर मन्दिरको संरक्षण समितिलाई समेत थाहा दिइएन,’ उनले थपे, ‘संरक्षण समितिले यसको विरोध गर्छ भनेर होला कुनै जानकारी दिएन ।’

यहाँ करिब ९५ जस्ताको पाता हालेको छ, कति रकमको भनी बोर्ड समेत छैन मंन्दिरका पुजारी मंगरु थारुले भने । कसले काम गरेको हो त्योे पनि थाहा छैन ।

‘मन्दिर व्यवस्थापन समिति कै उपभोक्ता समिति निर्माण गरी काम गरौं भनेको थिए तर मानेन्,’ थारुले भने । त्यसमा मन्दिर व्यवस्थापन समितिको कुनै संलग्ता नरहेको पुजारी थारुले बताउँछन् ।

उता पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख दिनेश अधिकारीले साना-साना योजनाको फोटो हेरेर भुक्तानी दिने गरेको बताए ।
‘यहाँ ठुला ठुुला योजना हुन्छन्’ उनले भने, ‘त्यो सानो सानो योजनाहरुको फोटो हेरेरै भुक्तानी दिने गरेका छौं ।’ कार्यालय प्रमुखले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति प्रस्तुत गर्र्दै भुक्तानी गरेको समेत उनले स्वीकारेका थिए ।

पहिले रातो कितावमा नआएको र नेताले भनेकै भरमा योजना बनेको भन्दै उनले राजनैतिक चरित्रमाथि प्रश्न गर्दै अधिकारीले भने, ‘किताव निकालेपनि विचबाट योजना बन्छन्, ती विचबाट बनेका योजनाहरुलाई कार्यालयले कार्यान्वयन गर्नुपर्ने बाध्यता छ ।’

थप लक्ष्मीनारायण मन्दिरकै संरचना बनाउन कोहलपुर नगरपालिका वडा नं. ११ को वडाबाट भुई तलामा पि.सि.सि.गर्ने भित्र बाहिर पलस्टर गर्न २ लाख २८ हजार रकमको काम भइरहेको भनिएको छ ।

कोहलपुर नगरपालिका ११ नम्बर वडा अध्यक्ष कल्पना अधिकारीले वडाबाट २ लाख २८ हजार रकमको काम भइरहेको छ । ‘पर्यटन कार्यालयको विषयमा आफू संंलग्नता छैन,’ उनले भनिन्, वडाको बजेटको विषयमा भने आफू पूर्ण जानकार छु ।’

पर्यटनकै प्रमुखले भुक्तानीको लागि सिफारिस मागेपछि मैले सिफारिस दिएको वडा अध्यक्ष कल्पना अधिकारीले बताइन् ।  क्रमश :