पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदुरीको बसपार्क लुुम्बनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको चौराहको पूर्वमा निर्माण भएको लामोदुरीको बसपार्क आज उद्घाटन गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी लुम्बनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीले उद्घाटन गरेका हुन् । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क हो ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो ।

बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेशनको व्यवस्था मिलाइएको छ ।

उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि सबैको सहकार्य हुनुपर्ने जोड दिए । ‘एकता नै बल हुन्छ’ उनले भने, ‘सबै राजनितिक दलहरु एक ठाउँमा आउने हो भने कोहलपुरको मात्र होइन लुम्बिनी प्रदेशकै समृद्धि र विकास हुन्छ ।’ यातायात कार्यालय समेत कोहलपुरमा ल्याउन पहल गर्ने मुख्यमन्त्री चौधरीको आश्वासन दिए ।

लुम्बिनी प्रदेशका सभा सदस्य सञ्जु कुमारी चौधरी, दुर्गा चौधरी, बसन्ती अधिकारी, कृष्ण केसी ‘नमूना’ लगायतले कोहलपुरकै विकास र समृद्धिका लागि पहलकदमी गरिरहेको बताए । समग्र बाँके जिल्लाको विकास र समृद्धिका लागि सबै एकजुट भएर काम गर्ने प्रतिबद्धता गरे ।
कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुट बहादुर रावतले निर्माण व्यवसायीहरुले काम नगर्ने र ठेक्काको म्याद बढाउने काम गरेको भन्दै आक्रोस पोखेका थिए ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर विकासमा  समन्वय र सहकार्य गरिरहेको बताए ।

‘पहिलेको जस्तो मनपरी चल्दैन,’ उनले भने, ‘विकास र समृद्धिकाे राजनितिक आडमा विरोध र अवरोध गर्ने पाइदैन ।’ विकास र समृद्धिमा कुन ठाउँ के गर्ने, कसरी गर्ने कहाँबाट बजेटको व्यवस्थापन गर्ने विषयमा लक्षित हुन नगर प्रमुख आचार्यले आग्रह गरे ।

कोहलपुर नगरपालिका प्रमुख प्रशाकिय अधिकृत टिकाराम ढकालले सुविधा सम्पन्न लामोदुरीको बसपार्कको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपैयामा लामोदुरीको बसपार्क निर्माण भएको छ,’ उनले भने ,’जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपैया र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैया रहेको छ ।’ हाल बार्षिक रुपमा नगर विकास कोषलाई तिर्नुपर्ने बार्षिक साँवा व्याज २ करोड १६ लाख रहेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

लामोदुरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले पाएको छ ।

प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्नेछ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर छन् । प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतबार