कोहलपुर नगरपालिकाको आत्महत्या न्यूनीकरण गर्न अभियान सकियो

काेहलपुर।

कोहलपुर नगरपालिकाले बढ्दो आत्महत्या न्यूनीकरण गर्ने अभियान सकिएकाे छ । काेहलपुर नगरका १ देखि १५ वडामा चलिरहेकाे आत्महत्या न्यूनीकरण गर्ने अभियान सकिएकाे हाे । असार १ गतेबाट वडा नम्वर १५ बाट सुरु भएको यो अभियान वडा नम्वर ११ मा पुगेर सकिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले समाजमा कुनै पनि नागरिकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ स्थानीय सरकार सजग र प्रतिवद्ध रहेको बताए । आचार्यले भने, ‘हाम्रो अहिलेको प्रमुख दायित्व भनेको नागरिकको जीवन रक्षा गर्ने हो ।

नागरिकको जीवन रक्षाको लागि हामी निरन्तर प्रतिवद्ध रहँदै आएका छौं ।’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायका रुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताइन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनुपर्ने बताए । उनले मन सम्हाल्न नसक्दा आत्महत्याका घटना कहालीलाग्दो अवस्थामा पुगेको बताए ।

सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारिक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने बताउँदै त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्नेमा तिवारीले जोड दिए ।

पालिकाका नगर प्रहरी वीर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्यूनीकरणका लागि पहिलो चरणमा वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ । कोहलपुरमा एक बर्षको अवधिमा ५ दर्जनले आत्महत्या गरेको तथ्यांक छ ।