बारासँग सीमा जोडिएको घोडासहनमा प्रहरी र डाँका बीच झडप, दुई जनाको मृत्यु

वीरगञ्ज ।

बारा सिमानाकासँग जोडिएको भारतीय सहर सिम्रौनगढमा प्रहरी र डाँका बिच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चार संस्थाहरूका अनुसार झडपमा प्रहरीको गोलीबाट दुई जना डाँकाहरूको मृत्यु भएको हो ।

आइतबार राती डाँकाहरूको समूहले घोडासहनको पुरनहिया गाउँमा डकैती गर्ने योजना बनाइरहेको विशेष सूचना पाएर मोतिहारीबाट खटिएको प्रहरी टोली डाँकाहरू भएको स्थानमा पुग्दा झडप भएको थियो । प्रहरीले डाँकाहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले बम प्रहार गरेको भारतीय प्रहरीको दाबी छ ।

झडपमा परि दुई जना डाँकाको मृत्यु भएको छ भने तीन जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले घटनास्थलबाट पिस्टन बन्दुक, देशी बम, बम बनाउने सामग्री, लठ्ठी तथा ग्याँस सिलिन्डर समेत बरामद गरेको छ । झडपका क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भए पनि अरू डाँकाहरू प्रहरीसँग उम्केर फरार भएको बुझिएको छ । प्रहरीका अनुसार त्यहाँ कम्तीमा पनि १५ जना डाँका थिए ।

मृतक दुवै डाँकाको पहिचान नभएकोले भारतीय प्रहरीले भारत र नेपाल दुवैतर्फका सीमावर्ती प्रहरी पोस्टमा उनीहरूको फोटो पठाएको मोतिहारीका प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले जानकारी दिए ।