बाँकेमा ३ गते (भोली) देखि सामुदायिक विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा

कोहलपुर ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय भोली ३ गतेदेखि अनिश्चितकालसम्म बन्द गर्ने घोषणा गरेको छ ।

गत जेठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म तालाचाबी विद्यालयमा बुझाएर आन्दोलित गरिरहेका कर्मचारीहरुले भोली ३ गतेदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका हो ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई गत जेठ १५ गते नेपाल सरकारको निति तथा कार्यक्रमले सार्वजनिक बजेटमा सम्बोधन नगरेको भन्दै आन्दोलनमा उर्तिएका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष कृष्ण कुवँरले केन्द्रिय सर्कुलेसन अनुसार बाँकेमा भोली ३ गतेदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने बताए । गत जेठ २६ गतेसम्म पालिका र जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए ।

कुवँरले प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै आफ्ना मागप्रति सरकारले कुनै किसिमको चासो नराखी वेवास्ता गरेको भन्दै भोली (असार ३) गते सामुदायिक विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै पत्र बुझाइ सकेको बताए ।

परिषद्ले शिक्षा विकास तथा समन्वय इकाई, बाँके, ८ वटै स्थानीय तह, सबै सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिनेछ’ भनेर उल्लेख गरेको थियो । तर, गत जेठ १५ गतेको बजेटले हाम्रा माग सम्बोधन नभएपछि आन्दोलित भएका छौं । यतिमात्र होइन सेवा सुविधामा समेत विभेद छ, सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले गर या मरको स्थितिमा पुगेको अध्यक्ष कुवँरले बताए ।

नेपाल विद्यालय कर्मचारी परिषद् बाँकेका सचिव शर्माले संसद विकास कोष ब्यूँताएर करोडौं बजेट बाँड्न हुने तर देशको भविष्य उत्पादन हुने विद्यालयका कर्मचारीहरुलाई बजेट छैन भन्दै अपहेलना गरेको बताए । विद्यालय कर्मचारीले सेवा सुविधा बढाउन आन्दोलन गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो कठोर कदम चाल्न बाध्य भएको शर्माले बताए । बाँकेमा अहिले करिब २ सय बढि कर्मचारी रहेका छन् ।