आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद

इलाम ।

आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।

यस्तै दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटना लगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।