कृष्ण कुमार शाही, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१२ थारु टोलका स्थानियहरुलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
शनिबार कोहलपुर नगरपालिका वडा नंं. १२ का वडा सदस्य दोहना प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा थारु टोलका स्थानियहरुलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
अभिमूखिकरण कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराएका थिए ।
सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा. पाण्डेको भनाइ छ ।
उनले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गरे ।
गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोगका बारेमा जानकारी दिँदै यसले पार्ने अल्पकालीन र दीर्घकालीन समस्याको विषयमा डा. राजन पाण्डेले समुदायलाई सुसूचित पार्ने काम गरिरहेका छन् ।
डा. पाण्डेले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए ।
बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको र अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उनको भनाइ छ ।
कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरेले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारे समेत जानकारी गराएकी थिइन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ देखि बिरामीको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमा बापतको रकम पालिकाले व्यहोर्ने गरी निति तथा कार्यक्रम ल्याउन थालेको कोहलपुर नगरपालिकाका सिकलसेल ल्याब प्रमुख शिव गौतमले बताए ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर अस्पतालका डा. गोविन्द प्रसाद चौधरी लगायत जनप्रतिनिधि र स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्