भारतबाट विराटनगर आइपुग्यो पहिलो कार्गो रेल

विराटनगर ।

भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो कार्गो रेल आइपुगेको छ । कार्गो रेल भारतको बथनाहास्थित यार्डबाट मध्यान्ह १२ बजे नेपालतर्फ हिँडेको थियो ।

सात किलोमिटर परको बथनाहाबाट सीमामै अवस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा आइपुगेको रेलमा औद्योगिक कच्चा पदार्थ र फलामका बिलेट लोड गरिएको थियो ।

रेल र त्यसमा सवार कर्मचारीहरूलाई नेपाल र भारतका अधिकारीहरूले स्वागत गरेका थिए । त्यसलगत्तै नेपाल कस्टम यार्डमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी स्वागतमा आईसीपी पुगेका थिए । बथनाहादेखि बुधनगरसम्मको ट्रायक चार वर्षअघि परीक्षण गरिएको थियो । नेपालतर्फ मोरङको कटहरीमा कस्टम यार्ड निर्माणको काम बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो ।