नेपालगञ्ज र कोहलपुर सडक खण्डका अस्थायी संरचना हटाउन कोहलपुरले दियाे ४८ घण्टे अल्टिमेटम

कोहलपुर

कोहलपुर नगरपालिकाले नगर क्षेत्र भित्रका अस्थायी संरचनाहरु दुई दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । सडक डिभिजन नेपालगञ्ज र कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो ।

सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन लागिएको छ । यसअघि चैतको २४ गते सूचना जारी गरेर सडक डिभिजन नेपालगञ्ज र कोहलपुर नगरपालिकाले ३५ दिनभित्र सडक अतिक्रमण गरी बनाइएका स्थायी र अस्थायी संरचनाहरु हटाउन अल्टिमेटम दिएका थिए ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘सम्मानित उच्च अदालतको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको छ,’ ढकालले भने–‘त्यसपछि सडक अतिक्रमण बनेर बनाइएका स्थायी संरचना पनि हटाइन्छ ।’

उच्च अदालतबाट जारी भएका बाहेक अन्य क्षेत्रका सडक सीमा अतिक्रमण गरी बनाइएका ट्रष्ट, सिढी, पाली, टहरा, घुम्ती, पर्खाल, पेटी लगायतका अस्थायी संरचना पहिलो चरणमा हटाउन लागिएको हो । दुई दिन भित्रमा ती संरचना नहटाएको पाइएमा कार्यालयबाट मेसिन प्रयोग गरी हटाइने र हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गरिने चेतावनी समेत नगरपालिकाले दिएको छ ।