डेढ वर्षदेखि बंगुरको खोरमा थुनिएकी भीमा

कोहलपुर ।

टिनको छाना भएको इँटाको सानो घर। घरपछाडि बंगुरको खोर। त्यही खोरमा बस्छिन् कोहलपुर–१४, सिर्जना टोलकी ४३ वर्षीया भीमाकुमारी विक। उनी डेढ वर्षदेखि यही साँघुरो खोरमा कष्टकर जीवन बिताइरहेकी छन्।

चिसो भुइँमा बोरा ओछायाएर सुत्छिन् उनी। सर्पको जोखिम पनि उत्तिकै छ।

कसैलाई देख्नेबित्तिकै कराउने, चिच्याउने र चिथोर्ने गर्छिन् भीमा। त्यसैले पनि उनलाई खोरबाट बाहिर आउन दिइएको छैन। उनले खाने, बस्ने, दिसापिसाब सबै त्यही खोरमा गर्छिन्।

उनलाई खाना भने उनकी आमा धनसराले खोरसम्म पुर्‍याइदिन्छिन्। त्यही पनि सुतेका मौकामा। अरूबेला कराउने, चिथोर्ने गर्ने भएकाले नजिक जानै सकिँदैन।

बुबा रुपसिंहको मृत्यु भएपछि झन् छोरीको अवस्था बिग्रँदै गएको आमा धनसरी बताउँछिन्। ‘पहिले कक्षा १० सम्म पढ्दा ठिकै थियो तर पछि के भयो भयोरु थाहा भएन। एक्कासि मानसिक समस्या जस्तो देखापर्‍यो,’ उनले भनिन्, ‘लामो समय उपचार गरे पनि निको भएन, खर्च पनि धेरै भयो।’

भीमा कान्छी छोरी हुन्। उनका ३ दाजु र ५ दिदीहरू छन्। तर अहिले उनीसँग उनकी आमामात्रै बस्दै आएकी छन्।

छोरीको उपचार गर्न आर्थिक अभाव भएको भन्दै धनसरीले सहयोगको याचना गरेकी छन्। ‘खोरमा छोरी देख्दा आमाको मन कहाँ थामिन सक्छ ररु,’ उनले भनिन्, ‘‘खाना खान्छिन या खाँदिनन् भन्ने कसैलाई थाहा हुँदैन।’

सबैको सहयोग र उपचार पाएमा छोरीको रोग निको हुन्छ कि भन्ने आशामा बसेको धनसरी बताउँछिन्।

भीमाको अवस्थाबारे जानकारी पाएपछि कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा अपांगता समन्वय समिति संयोजक संगीता सुवेदीले उपचारका लागि पहल गर्ने आश्वासन दिएकी छन्। उनले घरमै पुगेर उनको अवस्थाबारे जानकार समेत लिएकी थिइन्।

‘अपांगता परिचय पत्र दिँदा समस्याको पहिचान गरेर मात्र परिचयपत्र दिने गरेका छौं,’ उनले भनिन्, ‘पहिचान गर्न जाँदा (पूर्णअशक्त, अतिअशक्त, मध्यम, सामान्य) छुट्याउन जाँदा अवस्था निकै गम्भीर देख्यौँ।’

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मनोरोग विशेषज्ञ डा. मोहमद ऐनुदिनले भीमालाई कडा मानसिक रोग भएको बताए। यद्यपि उनले सो रोगको उपचार हुन सक्ने बताएका छन्। ‘अस्पतालसम्म लैजाने व्यवस्थापन भयो भने उपचार हुन्छ,’ उनले भने।

भीमाको उपचारमा अपांगता समन्वय समितिका सदस्य सचिव रिना शाह, सदस्य जगत डाँगी, विनिता शर्माले समन्वय र सहकार्य गरिहेका छन्।