शिक्षाको विषयमा सुझाव लिँदै कोहलपुर




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा सम्बन्धी सरोकारवाला निकायहरुसंग सुझाव संकलन गर्ने थालेको छ । आगामी निति तथा कार्यक्रममा समावेश हुने गरी शिक्षालाई शैक्षिक हव बनाउन सुझाव लिन थालेको हो । आइतबार कोहलपुर नगरपालिका क्षेत्र भित्रका संस्थागत विद्यालयका सञ्चालकहरुसंगको छलफल तथा अन्तक्रिया कार्यक्रम भएको थियो ।

छलफल तथा अन्तक्रिया कार्यक्रममा अनुगमन तथा मुल्यांकन गर्ने विज्ञ समिति बनाउने, छात्रवृत्ति सम्बन्धी संस्थागत विद्यालयहरुले नगर शिक्षामा पेश गर्ने, स्थानिय पाठ्यक्रमलाई पिरियडमा राख्नुपर्ने, ५ वर्षसम्म एउटै पाठ्यपुस्तक लागू गर्ने र भर्ना गर्दा ट्रान्सफर सटिर्फिकेटमा अनिवार्य हुने जस्ता विषयबस्तुमा छलफल तथा सुझाव दिएका थिए ।

नेशनल प्याब्सन कोहलपुरका अध्यक्ष विष्णु केसीले लागूऔषधको कारणले शिक्षा क्षेत्रमा ठुलो असर पारेको बताए । ‘पछिल्लो चरणमा विद्यार्थीहरु लागूऔषधको कुलत फस्ने गरेका छन्,’ केसीले भने, कक्षामा शिक्षकले दिएको होमवर्क गर्दैनन् ।’ यसले गर्दा शैक्षिक गतिविधिहरुमा संलग्न नहुने, शिक्षकलाई समेत हातपात गर्ने, धम्की दिने जस्ता क्रियाकलापले शिक्षा क्षेत्रमा ठुलो असर पार्ने अध्यक्ष केसीले बताए । हरेक पाइलामा मन्टेश्वरी, प्रि-प्राइमरी विद्यालय खोल्ने र बाहिरबाट विद्यालय ल्याउने विषयमा नगर शिक्षाले गम्भिर भएर लाग्नुपर्ने केसीले बताए ।

क्रिसा कोहलपुरका अध्यक्ष वेगम चन्दले नतिजा हेरेर शिक्षामा सुधार नहुने बताए । ‘नगर पालिकाले कक्षा ३, ५, ८ र १० परिक्षा लिनेमा सहमत छौं,’ उनले भने, ‘तर नतिजा हेरेर शिक्षामा सुधार हुँदैन ।’ शिक्षामा सुधार हुन व्यवहारिक र नैतिक शिक्षाको आवश्यकता रहेको क्रिसा नगर अध्यक्ष चन्दले बताए ।

यस्तै शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल भने ‘माछाले पानीमा धेरै अण्डा पारेपनि आवाज कहिलै निकाल्दैन तर कुखुराले एउटा अण्डा निकाल्यो भने हल्ला मात्र गर्छ, त्यसैले माछा बनौं तर कुखुरा नबनौं ।’ नगर शिक्षा शाखा प्रमुख हमालले बताए । ‘नगर शिक्षाले सामुदायिक र संस्थागत विद्यालयलाईसंगसंगै लैजाने प्रयासमा नगरपालिकाको छ,’ हमालले भने, ‘त्यसैले आगामी दिनको निति तथा कार्यक्रममा तपाईहरुले दिएका सुझावहरुलाई राख्नेछौं ।’ त्यसैले विभिन्न शैक्षिक योजनाका विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको बताए ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समिति ईश्वरी प्रसाद विश्वकर्माले शैक्षिक पार्क, छात्रवृत्ति, मेयर छात्रवृत्ति कोष बनाउने र सेवा र व्यवसायमा बराबर हुनुपर्नेमा जोड दिएका थिए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले शिक्षामा दुई गुणा बढि लगानी लगाउँदा पनि शिक्षामा परिर्वन हुन नसकेको भन्दै गुनासो गरिन् । ‘नगर भित्रका संस्थागत विद्यालयहरुको सन्तोषजनक छ’ ‘तर सामुदायिक विद्यालयको नतिजा बृद्धि हुन सकेन’ उनले भनिन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले आगामी निति तथा कार्यक्रम निर्माण समावेश हुने गरी सुझाव दिन अनुरोध गरेका थिए । कोहलपुर नगर क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयहरुले शिक्षाको क्षेत्रका के के अभ्यासहरु गर्दा शैक्षिक गुणस्तर बृद्धि हुन्छ ? के कस्ता क्रियाकलाप गर्दा शिक्षक, अभिभावक र विद्यार्थीहरुको रुची बृद्धि हुन्छ ? जस्ता अपेक्षाहरु राखेका थिए ।

उनले संस्थागत विद्यालयहरुको एउटै संगठन निर्माण गरी ल्याउन समेत अनुरोध गरे । संस्थागत विद्यालयका सञ्चालकहरुलाई कोहलपुर क्षेत्रमा मात्र सिमित नभई कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशलाई लक्षित गरी शैक्षिक योजना ल्याउनुपर्नेमा नगर प्रमुख आचार्यले जोड दिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार