मनोमानी शुल्क लिएको भन्दै नगर शिक्षालाई अखिल क्रान्तिकारीको ज्ञापन पत्र

काम गर्न खोज्दा धम्की आउन थाल्छन् काम गर्ने मन लाग्दैन : शिक्षा शाखा प्रमुख

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा संस्थागत तथा सामुदायिक विद्यालयहरुले मनोमानी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारी बाँकेले नगर शिक्षामा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार अखिल क्रान्तिकारीका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गएको टोलिले संस्थागत तथा सामुदायिक विद्यालयमा मनोमानी शुल्क लिएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले नगर शिक्षाले मनोमानी शुल्क लिएपनि मौन बस्नुको कारण सहित ६ बुँदाको ध्यानाकर्षण पत्र नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाललाई बुझाएका हुन् ।

उनीहरुको ध्यानाकर्षण पत्रमा लेखिएको छ, सरकारी विद्यालयहरूले विद्यार्थी भर्ना नलिएको, आधारभुत तहको शिक्षाका लागि पनि शुल्क लिने गरेको, विद्यार्थी अनुपातमा शिक्षकहरूको व्यवस्था नगरेको, निजी विद्यालयले लिने गरेको मनोमानी लिएको, संस्थागत विद्यालयले दिने छात्रवृत्ति पारदर्शी नभएको र संस्थागत विद्यालयको शुल्क अनुमोदन नगरेको जस्ता मागहरु पेश गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले संगठनले ल्याएका मागहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नगर शिक्षा शाखाले अनुगमनको क्षेत्रमा कमजोर भएको छ’ उनले भने, ‘अनुगमन गरेपछि रोक्न वा बन्द गराउनुपर्छ ।’

रोक्न वा बन्द गराएपछि टेलिफोनका घण्टीबाट धम्कीपूर्ण शैलीले काम गर्न असहज भएको भन्दै विद्यार्थी संगठनहरुलाई यसको विषयमा सबैको एकिबद्धता भएपछि मात्र काम गर्ने हमालले बताए ।

उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र बिष्ट, जिल्ला कमिटिका पदाअधिकारी, कोहलपुर नगर अध्यक्ष सहित करिब १० जनाको सहभागिता भएको थियो ।