रुकुम कप भलिबलको आयोजकलाई उपाधि

शुदाम शर्मा । रुकुम पश्चिम

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा संचालित रुकुम कप भलिबलको उपाधि आयोजक रुकुम पश्चिमले जितेको छ ।

खलंगाको बराहटाकुरामा आज भएको फाइनलमा सशस्त्र प्रहरीको ६ नम्बर बाहिनीलाई पराजित गर्दै आयोजक रुकुम पश्चिमले उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा रुकुम पश्चिमले सशस्त्रलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट रुकुमले जितेको थियो भने दोस्रो सेट सशस्त्रले जितेको थियो ।

त्यसपछि तेस्रो सेट रुकुमले जितेका चौंथो सेट भने सशस्त्रले जित्यो । पाँचौं तथा अन्तिम सेट भने रुकुम पश्चिमले जित्दै उपाधि उचाल्यो । रुकुम पश्चिम सेमिफाइनलमा सल्यान र सशस्त्र सुर्खेतलाई पराजित गर्दै फाइनल पुगेको थियो । विजेता रुकुम पश्चिमले नगद ५ लाख र ट्रफि उचालेको छ ।

उप विजेता बनेको सशस्त्रले २ लाख ५० हजारमा चित्त बुझाएको छ । सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले समान १ लाख नगद पाएका छन् ।