वर्षमान पुनकी आमा बस्ने घरमा कसले चलायो गोली?

माओवादी नेता वर्षमान पुनकी आमा बस्ने घरमा गोली चलेको छ।

पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती करिब १० बजे गोली चलेको हो।

प्रहरीका अनुसार भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका हुन्।

पुन कायमुकाय प्रधानन्यायाधीशको सुरक्षामा खटिँदै आएका प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।

गोली लागेर वर्षमानकी आमा तीर्थमाली घाइते भएकी छन्। खुट्टामा गोली लागेको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

तीर्थमाली नातामा प्रकाशकी हजुरआमा हुन्। एसएसपी जिसीका अनुसार बालुवाटारस्थित उक्त घरमा प्रकाशको आउजाउ भइरहन्थ्यो। हिजो बेलुका पनि उनी त्यहाँ गएका थिए।

उनले बोकेको हतियार मिस्ह्यान्डलिङ भएर पड्केको एसएसपी जिसीले बताए। ‘कसरी मिसह्यान्डल भयो, अनुसन्धान गर्दैछौं,’ एसएसपी जिसीले भने।

घटनापछि प्रकाश पुनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा राखिएको छ।