सार्वजनिक जग्गामा कसैकाे हस्तक्षेप भएको छैन, अफवाह फैैलाईयो : अध्यक्ष प्रकाश शाही




बाँके जिल्लाको ८ स्थानीय पालिका मध्ये एक हो बैजनाथ गाउँपालिका । बैजनाथ गाउँपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरुमा अतिक्रमण गर्न केही दलालहरुले व्यक्तिको नाममा गराउने नाममा ठगी धन्दा चलाएको पाएपछि पालिकाले यो विषयमा कसरी काम गरीरहेको छ भन्ने विषयमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीसंग कोहलपुर टुडेले गरेको कुराकानीको संक्षिप्त अंश :

१. यहाँलाई स्वागत छ कोहलपुर टुडेमा ।

धन्यवाद ।

२. बैजनाथ गाउँपालिका सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्ने सूचना आएको छ, खासमा के हो ?

बैजनाथ गाउँपालिकामा अहिलेसम्म सार्वजनिक जग्गामा अतिक्रमण भएको छैन । केही दलालहरुले कर्णाली प्रदेशका केही जिल्लाहरुका जनताहरुलाई झुक्याई सार्वजनिक जग्गाहरु वितरण पालिकाले गर्दै छ भन्ने गलत अफवाह फैलाई प्रतिव्यक्ति १ हजार देखि २ हजारसम्म १२ कठ्ठासम्म जग्गा उपलब्ध गराउँछौ भनेर फारम भरी कोहलपुर, राप्तीसोनारी र बैजनाथको खाली ठाउँमा राख्ने भनी ठगी धन्दा चलाइरहेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले केहीलाई पक्राउ गरिसकेको छ भनेसुरक्षाको संयन्त्रहरुले थप अनुसन्धान गरिरहेका छन् । आज जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आचार्यसंग भेटेरै कुराकानी भइसकेको छ । यसमा संलग्न व्यक्तिहरुलाई कानून अनुसार कारवाही हुनेछ ।

३. बैजनाथ गाउँपालिकामा सार्वजनिक जग्गाहरु के कति छ ?

बैजनाथ गाउँपालिकामा २४, २८ र ३५ सालदेखि बसोबास गरिरहेका बैजनाथ गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरिरहेका करिब ५ लाख भन्दा बढिको लगत संकलन गरेका छौं । लालपूर्जा वितरण गर्न खोज्दा पनि वनले जंगललाई लालपूर्जा दिन मिल्दैन भन्छ, उता भूमिहीले भन्छ १० वर्ष उपभोग गरेकोलाई लालपूर्जा पाउनुपर्छ । यी दुवै कानून बाझिएकोले अफ्ठारो परिस्थतिमा छौं ।

४. बैजनाथ गाउँपालिकामा सार्वजनिक जग्गाहरु अतिक्रमण गरेको विषयलाई पालिकाले कसरी लिएको छ ?

धेरै राम्रो प्रश्न, पालिका यस विषयमा गम्भिर भएर लागेको छ । स्थानियहरुले पालिकाको पक्षमा हुनुहुन्छ । पालिकाले संलग्न व्यक्तिहरुलाई तत्कालको तत्काल कारवाही गर्नका लागि जुनसुकै परिस्थितिमा समेत सुरक्षा निकायलाई सहयोग गर्नेछ ।

आजै पालिकाको कार्यपालिकाका साथिहरुसंग यो विषयमा छलफल भईसकेको छ । फारम भर्ने व्यक्तिहरुले तीन पुस्ते नै छैन भने किसिमको फारम भएको बुझिएकोले यो अनुसन्धानकै विषय छ ।

पालिकाले दलालहरुले अफवाह भ्रम सिर्जना गरी सोझा जनतालाई झुक्याई फारम गर्न लगाइएको छ । त्यसैले यो विषयमा पालिकाले सूचना समेत प्रकाशन गरिसकेका छाैं । अहिलेसम्म कोही कसैले सार्वजनिक क्षेत्रमा हस्तक्षेप गरेको छैन ।

५. अन्त्यमा बैजनाथ बासीहरुलाई के भन्न चाहानुहुन्छ ?

बैजनाथ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्ने पहिलो काम हो । तर पालिकाले यसमा पक्रियागत रुपमा काम भइरहेको छ । मालपोत कार्यालय बाँकेबाट प्रमाणिकरण गरेर आइसकेको छ । भूमि आयोग बैजनाथको बैंठकबाट निर्णय गरी भूमि आयोग काठमाण्डांै पठाउँछौं त्यसपछि लालपूर्जा वितरण हुन्छ ।

दलाल/गठहरु आएको खण्डमा पालिका वा मलाई नै खबर गरेर सहयोग गरिदिनुहोला । सार्वजनिक जग्गामा कसैको रातारात टहरा बनाउने तथा जग्गा उपलब्ध गराउँछु भनी ठग गर्ने र गराउने व्यक्तिहरुबाट सजक हुन अनुरोध गर्दछु । यस विषयमा कोहलपुर टुडेले हाम्रा विचारहरु राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार