सार्वजनिक जग्गा अनाधिकृत रुपमा अतिक्रमण नगर्न कोहलपुर नगरपालिकाको आग्रह

कोहलपुर ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनाधिकृत रुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति कोहलपुर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीद्वारा आज जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

नगर क्षेत्रभित्रको सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबैको दायित्व भएको पनि सूचनामा उल्लेख छ । सूचनामा अगाडि भनिएको छ-` कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा विभिन्न जिल्लाबाट विभिन्न व्यक्ति/ समुह प्रवेश गरि अनधिकृत रुपमा अतिक्रमण गर्ने प्रयास गरेको जानकारी आएकाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

तसर्थ नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनैपनि व्यक्ति/समुह/संगठनले अनाधिकृत रुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ ।´ यो सूचना नगर कार्यपालिका स्तरको भएकाले अटेर गरेर अतिक्रमण गरे प्रचलित कानुन अनुसार तत्काल कार्वाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा चेतावनी दिइएको छ ।

यदि सरकारी सार्वजनिक जग्गा अनधिकृत रुपमा अतिक्रमण गर्न गराउन लागेको देखेमा कोहलपुर नगर प्रहरी, इलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।