Kohalpur Today Header Ads

सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु, ३ घाइते




सल्यान ।

सल्यानमा भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका– ७ की ९ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए।

घटनामा थप तीन जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये पाँँच वर्षीया यमुना आलेको अवस्था गम्भीर छ। उनको उपचार काठमाडौंमा भइरहेको छ।

LIfe Ok

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार यमुनालाई थप उपचारका लागि बाँकेबाट काठमाडौं लगिएको हो।

घटनामा परी घाइते भएकी तीन वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजले डिस्चार्ज गरेको श्रेष्ठले बताए। अर्का घाइते बालक ८ वर्षीय तेजेन्द्र आलेको अवस्था भने सामान्य भएकाले स्थानीय स्तरमै उपचार भइरहेको उनले जानकारी दिए।

सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका उनीहरूलाई भरूवा बन्दुक पड्केर छर्राहरू लागेको श्रेष्ठले बताए।

बेलबहादुर आलेलाई भरूवा बन्दुकसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए। ‘बेलबहादुरको घरको आँगनमा खेल्दै गरेका बालबालिकामाथि भरूवा बन्दुक पड्कन गई छर्राहरू लागेको भन्ने छ,’ श्रेष्ठले भने, ‘त्यो घटना कसरी हुन गयो भन्नेबारे पक्राउ परेका व्यक्तिसँग बयान लिन बाँकी नै छ।’

बेलबहादुरलाई मंगलबार बेलुका मात्रै इलाका प्रहरी कार्यालय लुहामको टोलीले ल्याइपुर्‍याएको र थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार