बाँकेका दुई स्थानमा सव-स्टेसन बनाउने

बाँके ।

बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सव–स्टेसन निर्माण गर्न लागिएको छ । जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेसन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

सब स्टेसन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुनेछ । खजुरास्थित जनक शिक्षा सामाग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३÷११ केभी क्षमताको सब–स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो भोल्टको डबल सर्किट विद्युत् प्रवाह हुनेछ । खजुरामा निर्माण गरिने सब स्टेसनमा १६÷१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ । नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले भने, ‘११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ ।’ सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ ।

यस्तै जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ । जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ ।

खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत् आउने जाने र बर्सातको समयमा विद्युत् अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ ।

सवस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दिर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ ।

हाल नेपालगन्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेसन छन् । नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत् आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने नोलाइट शाखा प्रमुख पौडेलको भनाइ छ ।