नेपाली कांग्रेस बाँकेले प्रथम जिल्ला सम्मेलन गर्दै

कोहलपुर ।

नेपाली कांग्रेस बाँकेले आफ्नो जिल्ला सम्मेलन गर्ने तयारी तिब्र पारेको छ । यही चैत १८ गते शनिबारका दिन नेपालगन्जस्थित सिद्धार्थ कटेजमा सम्मेलन गर्न लागिएको बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले प्रथम जिल्ला सम्मेलन गर्न लागेको बताए । उक्त सम्मेलनमा १ हजार ६ सय प्रतिनिधी सहभागी हुने उनले बताए । सम्मेलनको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने तय भएको छ ।

‘सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ, सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानीहरु, पूर्व पार्टी सभापतिहरु, उत्कृष्ट वडा सभापतिहरु, महिला वडा सभापतिहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ,’ सभापति गौडेलले भने ।

‘नेपाली कांग्रेसको विधान र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको निर्णयअनुसार जिल्लाभित्र रहेका वडा र प्रतिनिधिसभा क्षेत्रले बर्षको २ पटक तथा पालिका, प्रदेश र जिल्लाले बार्षिक रुपमा एक पटक सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाले बार्षिक सम्मेलन गर्न लागेको जानकारी गराउँदछौं,’ उनले भने ‘जिल्ला सम्मेलन विगतको समिक्षा र आगतको कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न हामी लागि परेका छौं, अहिलेको जिल्ला कार्यसमिति निर्वाचित भएर आएको यो ‘एक बर्ष’ चार बर्षे कार्यकालको आधारभूमीका रुपमा स्थापित भएको अनुभूति हामीले गरेका छौं, आमकांग्रेसजन र बाँकेबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिती गाउँ–गाउँसम्म पुर्याउन हामी कर्मशील बनेर लागेका छौं ।’