कोहलपुरमा नयाँ योजना र भिजनका साथ कोशेली घर सञ्चालन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा नयाँ योजना र भिजनका साथ आर्गेनिक कोशेली घर सञ्चालनमा आएको छ । सोमबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरी बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले सुर्वशुलभ आर्गेनिक कोशेली घर सञ्चालनमा आएको हो । यसले कोहलपुरका १५ वटा वडामा उत्पादनमा भएका आर्गेनिक बस्तु, हस्तकला र ७७ वटै जिल्लाका पहिचाहन चिनाउन सक्ने उत्पादित बस्तु तथा हस्तकलाहरु कोशेली घरमा पाउने कोशेली घरका प्रबन्धक निर्देशक ईश्वर शर्माले बताए ।

‘पहिलो प्राथमिकता कोहलपुरका १५ वटा वडामा उत्पादन भएका बस्तुहरुको विक्रि वितरण र बजारीकरण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यहाँ भान्सादेखि कपडासम्मका आर्गेनिक बस्तुहरु पाउनेछ ।’ नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका बस्तुहरु समेत कोशेली घरमा पाउने शर्माले बताए । स्थानीय स्तरमा उत्पादन हुने गरेका बस्तुहरुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनिकरण गर्न कोशेली घर सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शर्माले कोहलपुर टुडेलाई जानकारी दिए ।

‘अहिले भारतबाट ल्याइएको तरकारीमा बजारमा छाप्छाप्ती हुने तर स्वदेशमा उत्पादन भएको तरकारीले बजार नपाउने समस्या छ । त्यसको निराकरण हुन्छ,’ उनले थपे, साना तथा व्यवसायीक रुपमा तरकारी, चामल, खाद्यान्न बस्तु, गेडागुडी, अचार, हस्तकला, टपरी लगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका बस्तुहरु हुनेछन् ।’ कोहलपुर नगरपालिकाले अनौपचारीक तथा औपचारीक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुहरुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले बताए ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले स्थानिय उत्पादनलाई प्रमुख प्रथमिकतामा राख्नपर्नेमा जोड दिएकी थिइन् । ‘महिला दिदिबहिनीहरुलाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सिप विकास तालिमहरु दिइरहेको छ,’ उनले भनिन्, ‘तालिम सिकिसकेपछि ठुलो संख्यामा उहाँहरुले उत्पादन सक्नुहुन्न, त्यसैले उहाँहरुले उत्पादन गरेको समानहरुलाई कोशेली घरले ठुलो मद्धत पुर्‍याउने छ ।’ बजारमा आएको बस्तुभन्दा हातले बनेका सामानहरु निकै राम्रा र उत्कृष्ट हुने गरेका छन् । नगरपालिकाले डाँका, ढकीया, चप्पल लगायत अन्य लक्षित वर्गका तालिम दिएका थियौं सोही तालिम लिएका व्यक्तिहरुले उत्पादन गरेको बस्तुहरु कोशेली घरमा पाउने उपप्रमुख सुवेदीले बताइन् ।

यस्तै बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्ने बताएकी थिइन् । पहिले २५ जनाको समूहबाट बनेको यो सहकारी अहिले बृहत रुपमा अगाडि बढाउन सहयोग गर्नुहुने सबै शेयर सदस्य तथा सञ्चालक समिति, सल्लाहाकारहरुप्रति शर्माले हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् । कोशेली घरको लागि कोहलपुर नगरपालिकाले खोलेको ठेक्कबाट बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले ५ लाख अनुदान पाएको थियो भने अहिले सहकारीले करिब ८ लाख लगानी लगाएको अध्यक्ष शर्माले बताएकी थिइन् ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपाालिका आर्थिक विकास शाखा प्रमुख वीर बहादुर विक, महिला तथा बालबालिका शाखाकी अधिकृत घटना शाह, सहकारीका सल्लाहकार समिति सदस्य सीता पौडेल, शेयर सदस्य, सञ्चालन समिति र पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालक सहकारीका सचिव कमला कार्कीले गरेकी थिइन् ।