कालिकोटमा डिउटीमा रहेका प्रहरीमाथि आक्रमण

कालीकोट ।

कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका हुन् ।

युवाहरुको समूहले होहल्ला गर्दै ट्राफिक कार्यालयमा आएर डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी आएको समूहले कार्यालयमै आएर आक्रमण गरेकाले केही प्रहरी घाइते भएका छन् ।

आक्रमणबाट प्रहरी जवान विष्णु शर्माको हात काटिएको छ भने प्रहरी वरिष्ठ हवल्दार दीपक बोहोरालाई पनि चोट लागेको प्रहरीले बताएको छ । साथै कार्यालयमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशी, प्रहरी जवान रवीन्द्र बुढालाई पनि कार्यालयमै प्रवेश गरी आक्रमण भएको प्रहरीको दाबी छ ।

आक्रमणमा संलग्न दुई जनालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुबराज बमले कार्यालयमा आएर आक्रमण गर्नेहरुलाई कारबाही लागि मुद्दा चलाउने तयारी भइरहेको बताए । उनले आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र अरुको खोजी भइरहेको बताए ।

प्रहरीले आक्रमणमा संलग्न खाँडाचक्र नगरपालिका वडा नं २ का उपेन्द्र शाही र वडा नं ११ बदाल्कोटका महेश भारतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार केहीले प्रहरीमाथि आक्रमण गरिरहेका थिए भने केहीले भिडियो खिचिरहेका थिए ।

गोरखापत्र