कोहलपुरमा जनतासंग मेयर कार्यक्रम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा जनतासंग मेयर कार्यक्रम सुरु भएको छ । बाँकेका ८ पालिकाहरुमध्ये कोहलपुर नगरपालिकाले स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले कोहलपुर ७ लखनवारदेखि जनतासंग मेयर कार्यक्रम सुरु भएकोे हो । सामान्य वर्गका जनताका समस्याहरुलाई निराकरण गर्ने उद्देश्यले जनतासंग मेयर कार्यक्रम सुरु गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

‘जनतासंग प्रत्यक्ष रुपमा पूर्वाधार विकास, शिक्षा, कृषि स्वास्थ्य, खानेपानी लगायत अन्य विभिन्न समस्याहरुलाई सुन्छौं’ उनले भने, ‘ती समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न क्षेत्रसंग पहल गरी समाधान गर्छौं ।’ यो कार्यक्रमले कर्मचारी, जनप्रतिनिधि, राजनितिक दल, सामुदायिक एवं सामाजिक संघ सस्था, महिला दिदी बहिनि दाजुभाईहरुसंग निरन्तर सम्पर्क हुने र समस्या आए समाधान गर्ने नगर प्रमुख आचार्यले बताए ।

‘गाउँघरमा रहेका सामान्य वर्ग र गरिव वर्गहरु कुराहरु सुन्ने माध्यम पनि हो,’ उनले थपे, ‘त्यसले गर्दा पालिकामा हुने सेवा प्रवाह, सुशासन, प्रभावकारी रुपमा सजिलै काम हुन्छ ।’ कोहलपुरका १५ वटै वडामा भेला तथा अन्तक्रिया कार्यक्रम गरी जनतासंग मेयर कार्यक्रम प्रारम्भ भएको आचार्यले बताए ।

कोहलपुर नगरपालिकामा प्रवक्ता तथा वडा नं. १४ का वडा अध्यष नम बहादुर आलेले यो अभियान निरन्तर सञ्चालन हुने बताए । कोहलपुरका गौरवका योजनादेखि टोल विकासका योजनासम्म विषयबस्तुहरु समेटिएको छ । पालिकाबाट गरिने सम्पूर्ण सेवाहरुको बारेमा जनतासंग प्रत्यक्ष जोड्ने माध्यम बनाउन यो कार्यक्रमको आयोजना गरिरहेको आलले बताए ।

कोहलपुर नगरपालिका ७ वडामा भएको अन्तक्रिया कार्यक्रममा आफ्ना समस्या र सेवा प्रवाह सम्बन्धी विषयबस्तु राखेका थिए । अन्तक्रिया कार्यक्रममा वडा नं. ७ का अध्यक्ष ठग्गा थारु, वडा सदस्य, राजनिति दल, महिला तथा बालबालिका, संघसंस्था लगायत सम्पूर्ण वडाबासीको उपस्थिति रहेको थियो ।