आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

काठमाडौं ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।

गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । मंसिर, पुस र माघ महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो । पोहोर परार पुस–माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।

शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदलयात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् । छाता तथा रेनकोट नभएका कारण उनीहरु रुझ्दै गन्तव्यतर्फ गएका छन् । ग्रामीण क्षेत्रमा खेती लगाउने तयारी गरेका किसानलाई पानी परेपछि जमिन खनजोत गर्न सहज हुनेछ ।