फागुन १५ मा सार्वजनिक विदा दिन माग

बुटवल ।

मगर समुदायले फागुन १५ सार्वजनिक विदा दिन माग गरेको छ ।

फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।

नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको संघकी अध्यक्ष बसन्ती साठीघरेले गुनासो गरिन् ।

२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको उनले बताइन् ।