गोरखाका क्याम्पस प्रमुखले आत्मालोचना गरे, विद्यार्थीले माफी मागे

गोरखा ।

जनयुद्धको विरोध गर्दै सामाजिक सन्जालमा अभिव्यक्ति दिएका गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखले आत्मालोचना गर्ने र उनलाई हातपात गरेका विद्यार्थीहरुले माफी माग्ने सहमति भएपछि क्याम्पसमा पठनपाठन सुरु भएको छ ।

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएपछि क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि अनेरास्ववियू क्रान्तिकारीका विदार्थीहरुले हातपात गरेका थिए । क्याम्पस इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षको टेबुल समेत तोडफोड गरेको थियो ।

घटनामा गोरखा नगरपालिकाका मेयरका स्वकीय सचिव समेत रहेका अर्याल, जिल्ला समन्वय समिति प्रमुखका स्वकीय सचिव राजन आलेमगर, अनेरास्ववियु क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङलगायत अन्य युवाहरुको संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आइतबार दुई पक्षबीच छलफल गराएको थियो ।

आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता घटना दोहोर्‍याए कानूनी कारवाही भोग्न तयार रहने लिखित प्रतिवद्धता गरेपछि सहमति जुटेको एसपी अनुपम श्रेष्ठले बताए । सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको विषयमा क्याम्पस प्रमुखले आत्मालोचना गर्ने र बन्द रहँदै आएको क्याम्पसको पठनपाठन सोमबारबाट सुरु गर्ने सहमति समेत भएको उनले जानकारी दिए ।