सप्तरी र कपिलवस्तुमा सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ ।

सप्तरी र कपिलवस्तुमा भएका छुट्छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

सप्तरी, महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिकाको डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को.२८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय प्रदिपकुमार यादवको मृत्यु भएको हो ।

यादव राजविराज नगरपालिका–११ फर्सेटका स्थायी वासिन्दा हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उता, कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय वाहदुल मुसलमानका छोरा ९ वर्षीय जाकिर मुसलमान रहेको प्रहरीले जानकारी दिएको छ ।