मुग्लिन–नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ ।

गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १–१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

सडक आयोजना प्रमुख कार्कीका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ ।

तीन मुख्य स्थान कालिखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउन खोजिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउन काम जारी छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

नारायणगढतर्फको तल्लो भागमा केही कडा चट्टान आए पनि थपिएको १५ दिनमा भ्याउने तयारी आयोजनाको छ । तुइन खोलाको मुग्लिनतर्फको भीर सबैभन्दा जटिल र गाह्रो भाग भएको निकै समय लागेको आयोजना प्रमुख किरण कार्कीले बताए । ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको छ ।

समग्रमा दुई महिनामा ३५ प्रतिशत मात्रै काम तुइनको मुग्लिनतर्फको भागको सकिएको छ । ब्रेकरको सहायताले चट्टान काट्दा निकै समय लागेको र समस्या भएकोले आयोजनाका अधिकारीहरू अब विस्फोट गराउने तयारीमा जुटेका छन् ।

आयोजना प्रमुख कार्कीले दिएको जानकारी अनुसार तुइनको मुग्लिनतर्फको भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प नभएकोले सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा लगेको बताउँछन् ।