कोहलपुर ९ मा बृहत् सरसफाई

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-९ भवानिपुरमा बृहत् सरसफाई गरिएको छ । शनिबार कोहलपुर नगर प्रहरीको आयोजनामा वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाई गरिएको कोहलपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए ।

जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्येक्ष सहभागितामा सरसफाई गरिएको हो । वडा अध्यक्ष योगीका अनुसार  आफ्नो वडालाई सफा सुग्घर बनाउने अभियानमा आफुहरु जुटेको छाैं । वडाबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह गरे । घरभित्रबाट निस्कने फोहोरलाई पनि कुहिने र नकुहिने गरि छुट्याएर राख्न र नगरपालिकाबाट आउने गाडीमा बिसर्जन गर्न सुझाव दिएका थिए ।

नगरपालिकाले एक महिना अघिदेखिनै सार्बजनिक स्थानमा फोहोर नफाल्न आग्रह गर्दै नगरपालिका भित्र माइकिङ गर्दै आएको छ। सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारबाही गर्ने रणनीति नगर प्रहरीले लिएको छ । त्यसको अभ्यास पनि नगर प्रहरीले गर्न सुरु गरिसकेको छ । नगर प्रहरीले सार्वजनिक स्थान मा जथाभावी फोहोर फालेको पाइए ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने गरि कारबाही अभियान सुरु गरेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आफ्नो घर वरपर तथा टोलको सरसफाई गर्नु नगरबासीको दायित्व भएको बताए । भवानिपुरमा आयोजना गरिएको सरसफाई कार्यक्रममा सहभागी हुनु भएका प्रमुख प्रशासकीय अधिकृत ढकालले आफ्नै घर वरपर फोहोरका डंगुरहरु हुँदा पनि सरसफाइ गर्न तर्फ अग्रसर नहुनु लाजमर्दो बिषय भएकाले सकेसम्म स्थानीय आफैले यसको नेतृत्व लिएर आफ्नो टोल तथा बस्तीलाई सफा राख्न सुझाव दिए ।