नक्कली कागजात बनाउने अभियोगमा एकजना पक्राउ

काठमाडौं ।

शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू बराममद गरेको छ ।