काठमाडौं ।
सरकारले सम्पत्ति शुद्धीकरणमा कडाइ गर्न केही ऐनहरू संशोधन गर्न खोजेको छ ।
संशोधन प्रक्रिया पूरा भयो भने निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्नेछ । क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त कम्पनीले पनि एकभन्दा बढी क्यासिनो चलाउन पाउने छैन ।
अर्थ मन्त्रालय स्रोतका अनुसार हाल कार्यान्वयनमा रहेका १४ वटा ऐन तथा एउटा संहिता संशोधनको तयारी गरिएको हो । यसका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद बैठकमा पेस भएको छ। त्यहाँबाट स्वीकृत भएपछि संघीय संसदमा दर्ता हुनेछ ।
यसअघि प्रतिनिधि सभाले भदौ २१ गते पारित गरेको यो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित हुन सकेको थिएन। पछि कात्तिक ७ गते अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएको थियो । तर प्रक्रिया अघि बढेन ।
यसबीच वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ’खैरो सूची’ र निगरानीमा नेपाललाई समावेश गरिने जोखिम बढेपछि ऐन संशोधनको प्रक्रिया पुनः अघि बढाइएको हो ।
संशोधन गर्न लागिएका ऐनमध्ये मालपोत ऐन, २०३४ एक हो । यसलाई संशोधन गरेर निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने प्रस्ताव गरिएको छ । कसैले शुल्क लिएर वा नलिई घरजग्गा खरिद–बिक्रीमा सहयोग गर्न वा व्यावसायिक सेवा दिन इजाजत लिनुपर्ने छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्