भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

विराटनगर ।

विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ ।

कञ्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो ।

ठेक्का लागेपछि कञ्चनबारीमा पुल निर्माणका लागि एकतर्फ जग बनाइएको छ । पाञ्चाली मोडमा जग बनाउनका लागि खाल्डो खनिएको छ । ‘हिजो भीम पराजुलीले शिलन्यास गरे, तर अवरोध हुँदा काम अगाडि बढेन’, महानगरपालिका स्रोतले भन्यो, ‘नागेश कोइराला आएपछि पुल निर्माणको प्रक्रिया बढाउनै चाहेनन् ।’

महानगरपालिकाले आकाशे पुल बनाउने भनिएको तीन वटै ठाउँमा स्थानीय वासिन्दाको अवरोध छ । कञ्चनबारीमा कांग्रेस नेता चुमनारायण तबदारलगायतले आफ्नो घर अगाडि आकाशे फुल नबनाउन दबाव दिएका थिए ।