राप्ती नदिमा १० वटा दुर्लभ घडियाल गोही छाडियो

कोहलपुर ।

बाँकेको राप्तीनदिमा १० वटा दुर्लभ घडियाल गोही छोडिएको छ । बिहिबार विश्व सिमसार दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा दुलर्भ घडियाल गोही राप्तीनदिमा छोडिएको हो ।

लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी ‘नमूना’, राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार शाह, राष्ट्रिय प्रकृतिक संरक्षण कोष कार्यालय प्रमुख रविन कड्रीया, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वाडेन रमेश थापा, फेन्स फोर वाइल्डलाइफ कन्जरभेन्सका संयोजक आषिस कुमार चौधरी लगायतको उपस्थितिमा दुलर्भ घडियाल गोही छोडिएको हो ।

यस्तै लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी ‘नमूना’ले आन्तरिक र बाह्य पर्यटकीय क्षेत्रको स्थापना र सिमसार क्षेत्रको पुर्नस्थापना गर्ने उद्देश्यले राप्तीनदिमा घडियाल गोहीहरु छाेडिएको बताइन् । ‘यहाँका स्थानिय बासिन्दाहरुको प्रत्यक्ष उत्पादन र विकासमा सघाउँ पर्‍याउने छ,’ उनले भनिन्, ‘त्यसको लागि तालतलैया खोलानालासंग जोडिएर व्यवसायीक वातावरण तयार हुनेछ ।’

‘बर्दिया राष्ट्रिय निकुञ्ज वरीपरीका बासिन्दाहरुको जिवनशैली परिवर्तन भएको छ, तर बाँके राष्ट्रिय निकुञ्जका वरीपरीका बासिन्दाहरुको अझै जिवनशैली परिवर्तन हुन सकेको छैन,’ उनले थपिन् । प्रदेश सरकारले प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा हुने भएकोले दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पति जोगाउनुु सबैको कतव्र्य रहेको मन्त्री नमूनाले बताइन् ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार शाहले जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा ठुलो योगदान हुने बताएका थिए । शाहका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् ।

सिमसार एक गतिशील विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख शाहले बताए ।

भिडियाे हेर्नुहाेस् ।