महिनौंदेखि अस्तव्यस्त सडक र सहर

पोखरा ।

पोखराको व्यस्त सडकहरू मध्येमा पर्छ, पोखरा सभागृहचोकदेखि विपिचोकसम्मको सडक । यसको दुरी १ हजार ५ सय मिटर छ । तुलनात्मक रूपमा पोखराको अन्य सडकभन्दा फराकिलो भएकाले पनि सवारीको चाप बढी हुन्छ । अनि यात्रुको ओहोरदोहोर पनि धेरै नै हुन्छ ।

चाक्लो सडकमा चालकहरूले लेनको ख्याल नै नगरी ओभरटेक र सवारी क्रस गर्न भ्याउँछन् । जसले गर्दा साना तथा ठूला सवारी दुर्घटना बढिरहेको छ । यो सडकमा हुने दुर्घटनाबाट ट्राफिक प्रहरी हैरानीमा थियो । यसको समाधान खोज्न ट्राफिक प्रहरी महानगरसम्म पुगेको थियो ।

ट्राफिक व्यवस्थामा ध्यान दिन महानगरले डिभाडर बनाएर बिचमा फूल रोप्ने योजना अघि सार्‍यो । त्यही डिभाइडरसँगै सडक बत्ती राख्ने काम पनि अघि बढाएको छ । सोही अनुसार पोखरा महानगरले डिभाईडर राख्ने काम सुरु गरिसकेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।